बीरगंज २४ श्रावण । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–८, जोगिनियाबाट प्रहरीले भारी परिमाणको लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।
प्रहरी टोलीले कोशी बाँधको पलारस्थित सरकारी खाली जग्गामा बनाइएको खेतबाट ३ सय २ किलो ४ सय ८० ग्राम गाँजा बरामद गरेको हो।
भारतको बिहार घर भएका नन्दकिशोर मुखियाले सरकारी जग्गामा लगाएको सनपाट (पाट) को खेतीभित्र लुकाएर राखिएको अवस्थामा १२ बोरा गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
अनुसन्धानका क्रममा उक्त गाँजा हनुमाननगर कंकालिनी नगरपालिका–७, मुखिया टोल निवासी ५३ वर्षीया माधुरी मुखियाको रहेको खुलेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमराज धिमिरेका अनुसार बरामद गरिएको गाँजाको कुल तौल ३०२ किलो ४८० ग्राम रहेको छ।
पक्राउ परेकी माधुरी मुखियालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।





प्रतिक्रिया