कन्हैया गुप्ताबाट ।
वीरगञ्ज, २४ श्रावण । वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यका साथ सडकका खाल्डाखुल्डी पुर्ने तथा अव्यवस्थित तारहरू हटाउने अभियानलाई तीव्र पारेको छ।
महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलमको निर्देशन तथा सरसफाइ शाखा प्रमुख सरफुद्दिन अन्सारीको प्रत्यक्ष नेतृत्वमा यो अभियान सञ्चालन भइरहेको छ।
केही समयअघि सडक विस्तारका क्रममा डोजर प्रयोग गर्दा सडकमा परेका खाल्डाखुल्डी र जथाभावी चुँडिएर झुण्डिएका विद्युत् तथा इन्टरनेटका तारहरूले सर्वसाधारणको आउजाउमा समस्या सिर्जना गर्नुका साथै सम्भावित दुर्घटनाको जोखिम बढाएको थियो। सोही जोखिम र असुविधालाई ध्यानमा राख्दै महानगरपालिकाले तत्काल कदम चालेको हो।
अभियानअन्तर्गत मुख्य तथा भित्री सडकहरूमा रहेका खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा भइरहेको छ भने पैदलयात्री र सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राखेर अव्यवस्थित तारहरू हटाउने तथा व्यवस्थित गर्ने कार्य जारी छ। नगरलाई सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउन यो कदमले ठूलो सहयोग पुग्ने महानगरपालिकाले विश्वास लिएको छ।






प्रतिक्रिया