वीरगञ्ज, २७ जेठ | भारतसँग जोडिएका खुला सीमानाकाहरूबाट अवैध रूपमा पशुपंक्षी, माछा, मासु र अण्डाको तस्करी नियन्त्रण गर्नका लागि अनुगमन कार्यलाई तीव्र पारिएको छ।
यसै क्रममा पशु क्वारेन्टाईन कार्यालय वीरगञ्जका प्रमुख एवं वरिष्ठ पशु चिकित्सक डा. राकेश मोहन सिंहको नेतृत्वमा खटिएको एक संयुक्त अनुगमन टोलीले गत मंगलबार पर्सा जिल्लाका विभिन्न ग्रामीण सीमावर्ती क्षेत्रहरूको विशेष अनुगमन गरेको छ।
ग्रामीण तथा सीमावर्ती क्षेत्रमा विशेष निगरानी जिल्ला प्रशासन कार्यालय, पर्साका अनुगमन टोलीका प्रतिनिधि ब्रह्मदेव प्रसाद यादवका अनुसार उक्त संयुक्त टोलीले पर्साका अत्यन्तै संवेदनशील र खुला नाकाहरूको स्थलगत निरीक्षण गरेको हो।
अनुगमन गरिएका क्षेत्रहरू अलौ ,तिलावे, झौवा, अमरपटी, प्रसौनीभटा र धोरे, पकाहामैनपुर, लहवरथकरी, सबैठवा, भिस्वा,बुढगाई, आसवारी, लङ्गडी, पोखरीया र बिन्दबासिनी लगायतका क्षेत्रहरू रहेका छन्।
यी नाकाहरूबाट हुन सक्ने सम्भावित अवैध आयात र तस्करीलाई रोक्न टोलीले विशेष चासो देखाएको छ।
सुरक्षा निकाय र सरोकारवालाको संयुक्त टोली तस्करी नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन सरकारी अधिकारी, सुरक्षा निकाय र सञ्चारकर्मीहरूको संयुक्त सहभागिता रहेको थियो।
उक्त अनुगमन टोलीमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका: स.प्र.नि. जितेन्द्र कुमार शाह र स.प्र.स.नि. सन्तोष प्रसाद यादव, सञ्चार क्षेत्रबाट रिपोर्टर्स क्लब नेपाल पर्साका अध्यक्ष तथा राष्ट्रिय दैनिक 'जन समर्पित' पत्रिकाका प्रधान सम्पादक कन्हैया गुप्ता,पशु क्वारेन्टाईन कार्यालय वीरगञ्जका प.स्वा.प्रा. समीक्षा श्रेष्ठ र खरदार टिका प्रसाद चौलागाई, अनिल प्रसाद कुर्मी सहितको उपस्थिति रहेको थियो।
पंक्षीजन्य पदार्थको आयातमा पूर्ण प्रतिबन्ध :
नेपाल सरकारको पशु सेवा विभागद्वारा जारी नियम र कानुनी व्यवस्था अनुसार भारतबाट कुखुरा, चल्ला, अण्डा लगायतका पशुपंक्षी तथा पक्षीजन्य पदार्थहरूको आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
यस प्रकारको प्रतिबन्धका बाबजुद पनि खुला सिमानाको फाइदा उठाउँदै अवैध रूपमा भित्रिन सक्ने अस्वस्थकर मासु र पंक्षीजन्य पदार्थले स्वदेशी किसानहरूलाई मर्का पर्ने र जनस्वास्थ्यमा समेत गम्भीर असर पुग्ने भएकाले सीमा क्षेत्रमा सुरक्षा र सतर्कता कडा पारिएको अनुगमन टोलीले जनाएको छ।






प्रतिक्रिया