वीरगंज १३ पुस । राज कुमार रुम्बालाई गोली प्रहार गरी हत्या गरिएको घटनामा तीन जनालाइ प्रहरीले पक्राउ गरेकाे समाचार छ ।
प्रहरीको विशेष टोलीले तीनै जनासँग गरेको सोधपुछ र बयान तथा घटनासँग सम्बन्धित सबुत प्रमाण फेला परेपछि अनुसन्धान साँघुरिएको बारा प्रहरी प्रमुख महेन्द्र खडकाले जानए ।
उहाँका अनुसार प्रहरीको विशेष मेहनतका कारण एक सातामै हत्याका दोषी लगभग पहिचान गरीएको बताए ।
व्यक्तिगत रिसिइबी तथा आर्थिक लाभका कारण हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको उहाँले जनाए । उहाँले भने, ‘अझ पनि सोधपुछ तथा बयान लिने काम भइरहेको छ, त्यो सकिएपछि हत्याका वास्तविक कारण खुल्नेछ ।
सकभर भोलि सबै सबुत प्रमाण तथा कनेक्सनसहितको विवरण सार्वजनिक गर्ने तयारी गरेका छौँ ।’
राष्ट्रिय अनुसन्धान विभाग बाराका इन्स्पेक्टर श्रीकान्त तिवारीसहित तीन जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनासँग जिल्ला प्रहरी कार्यालय बारामा राखेर सूक्ष्म अनुसन्धान चलिरहेको छ ।
प्रहरीको हत्यामा संलग्न अन्य दुई जना पनि बारा जिल्लाको इनर्वा सिराको रहेको प्रहरीले जानकारी दिएको छ । यद्यपि, बाँकी दुई जनाको नाममा भने अनुसन्धान जारी नै रहेकोले प्रहरी अझै गोप्य राखेको छ ।
गत शनिबार बारामा प्रहरीका भान्से रुम्बालाई गोली हानी हत्या गरिएको थियो ।
जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ११ स्थितको सडक खण्डमा उनको शव कारमा बेवारिसे अवस्थामा फेला परेको थियो ।
बागमती प्रदेशको ०१ – ०२८ – च – ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि उनी निस्किएका थिए, तर त्यसको भोलिपल्ट मृत भेटिएका थिए ।
इलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा हाल सिमरा एयरपोर्टमा कार्यरत थिए ।
प्रतिक्रिया