बीरगंज १३ माघ । पर्सा जिल्लाका १२ जना नेपालीले लिएको नेपाली नागरिकताको प्रमाणपत्र त्याग गरेकाे समाचार छ ।
चालू आर्थिक बर्ष २०८१ / ८२ को पहिलो ६ महिनामा १२ जनाले पर्साबाट लिएको नेपाली नागरिकता परित्याग गरेका छन् ।
पर्सा जिल्लाबाट १२ जना नेपाली पहिला विदेश गएकाे र उनिहरू उतै बस्ने भएपछि ति व्यक्तिहरूले नै नेपाली नागरिकता परित्याग गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनायाे ।
जिल्ला प्रशासन कार्यालय पर्साकाे तथ्याङ्क अनुसार साउनमा ४ जना भदौ र असोजमा १ – १ जना अनि कात्तिक, मंसिर र पुस महिनामा २ – २ जना गरी १२ जनाले नागरिकता परित्याग गरेका हुन् ।
यसै अवधिमा ३ हजार ७ सय ७१ जनाले नयाँ राहदानी लिएका छन् । चालू आर्थिक बर्ष २०८१/ ८२ को पहिलो ६ महिनामा १२ हजार १ सय ६ जनाले जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।
जसमा ५ हजार ९ सय ८६ जनाले प्रतिलिपी र ६ हजार १ सय २० जनाले नयाँ नागरिकताको प्रमाणपत्र लिएका हुन् । जिल्ला प्रशासन कार्यालयले नयाँ भवनबाट सेवा दिन थालेसँगै कार्यालयमा प्रशासनमा हुने काम पहिलेभन्दा छिटो हुन थालेको सेवाग्राहीहरुको भनाइ छ ।
नागरिकता प्रतिलिपि फाँटका शाखा अधिकृत दिपक कुमार पटेलले पहिले ३ देखि ५ दिन लाग्ने गरेको काम नयाँ भवनबाट कार्यालय सञ्चालनमा आएपछि आजको आजै प्रतिलिपि नागरिकता उपलब्ध गराउने गरेको जनाए ।
नयाँ नागरिकता फाँटका शाखा अधिकृत कृष्ण कुमार खतिवडाले सेवाग्राहीलाई समस्या नहुने गरी कर्मचारी बढी समय खटेर भए पनि समयमै नागरिकता दिइरहेको बताए ।
जिल्ला प्रशासन कार्यालय पर्साले सेवाग्राहीले पाउने सेवा तथा काम गर्दा पूरा गर्नुपर्ने प्रक्रिया, काम गराउँदा अपनाउनु पर्ने सचेतनालाई कार्यालय अवधिभर माईकिङ गर्ने गरेको छ ।
सेवाग्राहीकालागि राष्ट्रिय परिचय पत्र र राहदानीकालागि अनलाइन फारम कार्यालयमै निःशुल्क भर्ने सुबिधा समेत मिलाएको जनाए ।
प्रतिक्रिया