
बीरगंज २४ मंसिर । नेपाल वायुसेवा निगमका दुई वाइडबडी जहाज खरिद गर्दा १ अर्ब ४७ करोड १० लाख ८५ हजार रुपैयाँ भ्रष्टाचार भएको विशेष अदालतले मंगलबार ठहर गरेको समाचार छ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश तेजनारायण सिंह राई तथा रितेन्द्र थापाको इजलासले पूर्वअध्यक्ष प्रदीपकुमार कंसाकारसहित निगमका ४ नेपाली अधिकारी र ७ विदेशी प्रतिनिधिलाई दोषी ठहर गर्दै कैद तथा जरिवानाको सजाय सुनाएको छ ।
कंसाकारलाई २ वर्ष ९ महिना कैद, १२ करोड २५ लाख बिगो र उही मात्राको जरिवाना तोकिएको छ । त्यसैगरी, खरिदबेला पर्यटन सचिवसमेत रहेका शंकरप्रसाद अधिकारीलाई १ वर्ष ९ महिना, सचिवद्वय ढुंगाना र लामिछानेलाई १ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।
उनीहरूलाई पनि कंसाकारकै बराबर बिगो र जरिवाना तिराउन भनेको छ ।
विदेशी प्रतिवादीमध्ये एएआर कर्पोरेसनका अध्यक्ष दीपक शर्मा, जर्मन एभिएसन क्यापिटलका प्रतिनिधि क्रिश्चियन न्युहेलेन, एएआर इन्टरनेसनलका निर्देशक ओलेग कालिस्त्रु र अन्य ४ जना मिलेर ७ जनालाई जनही डेढ वर्ष कैद तथा कंसाकार बराबर बिगो–जरिवाना तोकिएको छ।
विमान खरिद सार्वजनिक खरिद ऐन र नियमावली विपरीत, मापदण्ड परिवर्तन गरेर, निश्चित कम्पनीलाई फाइदा हुने गरी मिलेमतोमा अघि बढाइएको ठहर गरिएको छ ।
भारी क्षमताभन्दा बढी मूल्य तिरेको, बैंक जमानतबिनै डलर सटही सिफारिस गरेको र पुरानो जहाज खरिदलाई उचित देखाउने गरी बदनियतपूर्ण चलखेल भएको ठहर समेत गरिएको छ।





प्रतिक्रिया