वीरगंज २३ मंसिर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि पर्साका चारवटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय कार्यसमितिले प्रत्यक्षतर्फका लागि सिफारिस गरेकाे समाचार छ।
पर्सा क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि कांग्रेस केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अनिल रुंगटाको एकल नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको छ।
त्यस्तै पर्सा क्षेत्र नम्बर २ बाट पूर्वमन्त्री तथा केन्द्रीय सदस्य अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य र नेविसंघका पूर्व जिल्ला सभापति राकेश यादवको नाम सिफारिस गरिएको छ।
पर्सा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ पूर्वमन्त्री तथा पूर्वसांसद सुरेन्द्र प्रसाद चौधरी, प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, नेविसंघका पूर्वकेन्द्रीय सदस्य शम्भु चौहान, किसान नेता असर्फी साह र भगवती चौधरी गरी ५ जनाको नाम क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको छ।
पर्सा क्षेत्र नम्बर ४ बाट प्रत्यक्षतर्फको उम्मेदवारका लागि फेरि पूर्वमन्त्री रमेश रिजालको एकल नाम कांग्रेस क्षेत्रीय कार्यसमितिले सिफारिस गरेको छ।
त्यस्तै प्रतिनिधि सभा निर्वाचनका लागि चारवटै निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फका उम्मेदवारहरूको नाम क्षेत्रीय कार्यसमितिहरूले सिफारिस गरेका छन्।
जसअनुसार, पर्सा क्षेत्र नम्बर १ बाट राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, कासिमा खातुन, बुनेल राम र किरण सरकारको नाम सिफारिस गरिएको छ।
पर्सा क्षेत्र नम्बर २ बाट समानुपातिक उम्मेदवारतर्फ गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रुपा श्रेष्ठ र जुनमाया बल तथा क्षेत्र नम्बर ३ बाट मुकेश कुर्मी, ध्रुव कुशवाहा र मनोज यादवको नाम सिफारिस गरिएको छ।
त्यस्तै पर्सा क्षेत्र नम्बर ४ बाट भने समानुपातिक उम्मेदवारका लागि कांग्रेस क्षेत्रीय कार्यसमितिले बृहस्पति कृष्ण श्रेष्ठ र सुजाता देवीको नाम जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ।
त्यस्तै आसन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर १ बाट शम्भु हजरा दुसाद र श्याम पोख्रेल, क्षेत्र नम्बर २ बाट सुखल हजरा, प्रेमचन्द्र दुबे, कन्हैयालाल बानिया र हिरा साह कानु, क्षेत्र नम्बर ३ बाट ललन द्विवेदी र सिन्धु मेहता तथा क्षेत्र नम्बर ४ बाट रमेश पाण्डेको एकल नाम सिफारिस गरिएको छ।
पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रबाट आएका उम्मेदवारको सिफारिस सूचीमा आवश्यक छलफल गरी पार्टीको निर्देशनअनुसार मंसिर २५ गतेभित्र जिल्ला कार्य समितिले मधेस प्रदेश कार्यसमितिमा पठाउने कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले संचारकर्मीलाइ जानकारी गराउनु भयाे।
मंसिर १५ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिकतर्फ तथा राष्ट्रियसभाका लागि उम्मेदवारको नाम सिफारिस क्षेत्रीय कार्यसमितिले मंसिर २३ भित्र जिल्ला कार्यसमितिमा पठाउनुपर्ने परिपत्र छ।
क्षेत्रीय कार्यसमितिबाट आएको सिफरिस जिल्ला कार्यसमितिले भने मंसिर २५ गतेभित्र प्रदेश कार्यसमितिमा पठाउनुपर्ने परिपत्र कांग्रेसको छ। त्यस्तै प्रदेश कार्यसमितिलाई प्राप्त हुने सिफारिसमा उल्लेख नाममा आफ्नो रायसमेत उल्लेख गरी मंसिर मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पठाउन परिपत्रमार्फत निर्देशन रहेको छ।






प्रतिक्रिया