
बीरगंज १६ पुस । प्रहरीले स्रोत नखुलेको हुण्डी कारोबारको रकमसहित तीन भारतीयलाई पक्राउ गरेको खबर छ ।
पक्राउ पर्नेमा भारत बिहार बेतिया, मथौली घर भई हाल वीरगन्ज महानगरपालिका वडा नं. २ छप्कैयामा बस्ने ५० वर्षीय अनवर मिया, उनका छोरा २२ वर्षीय कैफ र भारत बिहार मोतिहारीको गम्हरियाकला वडा नं. ३ का ४८ वर्षीय फूल महम्मद रहेका छन् ।
प्रहरीले विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका वडा नं. १० मकालु चोकबाट सोमबार अनवर मिया र उनका छोरा कैफलाई पक्राउ गरेको छ ।
बीआर २२ एच ६३३८ भारतीय नम्बरको मोटर साइकल चढेर आइरहेको अवस्थामा उनीहरूलाई रोकी खानतलासी गर्दा अनवर मियाले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका ५२, पाँच सय दरका १ सय ५७ र ५० दरका ९ गरी १ लाख ३० हजार ९ सय ५० रुपैयाँ र मोटरसाइकलको पछाडि सवार कैफले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका २ सय र ५ सय दरका दुई सय गरी तीन लाख रुपैयाँ बरामद भएको थियो ।
सोमबार नै मकालु चोकबाटै अर्का भारतीय नागरिक फुल महम्मदलाई पनि प्रहरीले हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको हो ।
लु ४१ प ६८९७ नम्बरको मोटरसाइकलमा सवार फुल महम्मदले लगाएको ज्याकेटको खल्तीबाट १ हजार दरका २ सय ४१ नोट फेला परेका थिए ।




प्रतिक्रिया