बीरगंज १ पुस । पर्साकाे जीराभवानी गाउँपालिका कार्यालयमा गत बुधवार समाचार सङ्कलन गर्न पुगेका पत्रकार शैलेश साहमाथि पालिकाका केही कर्मचारीले दुर्व्यवहार गरेको घटनाको विरोधमा आज प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरन्जन मिश्रकाे नेतृत्वमा गएकाे टोलीले जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई घटना बारे जानकारी गराएकाे छ ।
पालिकामा दुर्व्यवहार गर्ने पालिककाे कर्मचारीमाथि प्रमुख जिल्ला अधिकारी दहालसँग टाेलीले कारबाहीकाे माँग समेत गरेकाे छ।
गत बुधवार जीराभवानी गाउँपालिकामा कार्यरत कर्मचारी जितेन्द्र मिश्र, इन्द्रजीत हजरा लगायतले अपशब्द प्रयोग गर्दै मोबाइल फोन खोस्नुकाे साथै माेवाइलमा खिचिएकाे तस्विरहरू डिलिट गर्न लगाएकाे घटना प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साहले पर्साका प्रमुख जिल्ला अधिकारी दहाललाइ जानकारी गराउनु भयाे ।
कार्यालय समयमा गाउँपालिकामा कार्यरत रहेका कर्मचारीहरू अनुपस्थित रहेको खाली कुर्सीकाे तस्विर खिच्ने क्रममा पत्रकार साहमाथि कर्मचारी मिश्र र हजरा लगायतले दुर्व्यवहार गरेको घटना समेत प्रमुख जिल्ला अधिकारीलाइ पिडित पत्रकार साहले बताउनु भयाे।
प्रजिअ दाहालले जीराभवानी गाउँपालिकाका कर्मचारी जितेन्द्र मिश्र र इन्द्रजीत हजरालाई भाेली बुधबार बिहान ११ बजे सिसिटिभी फुटेज सहित जिल्ला प्रशासन कार्यालय, पर्सामा उपस्थित हुन निर्देशन दिनु भयाे।
प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष मिश्रकाे नेतृत्वमा गएकाे टाेलीमा कन्हैया गुप्ता, विजय भण्डारी , किरण सत्याल, नेपाल पत्रकार महासंघ पर्साका सहसचिव एसके चौरसिया, शैलेश साह, लक्ष्मी खरेल, राजन रौनियार, राजन सिंह, दीपेन्द्र बिसी, रामजी यादव, मृत्युन्जय साह, अभिलाष गुप्ता, कृष्णा श्रीवास्तव, विजय साहलगायतको सहभागिता थियो।
यसैबीच नेपाल पत्रकार महासंघ, पर्सा शाखाले पनि आज एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ पर्साका सचिव विजय कुमार महतोद्वारा जारी विज्ञप्तिमा समाचार संकलनको क्रममा सञ्चारकर्मीमाथि गरिएको अभद्र व्यवहारको भर्त्सना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि अविलम्ब कारबाही गर्न माग गरिएको छ।
साथै नागरिकको सुसूचित हुने अधिकारको रक्षा तथा सञ्चारकर्मी र समग्र सञ्चार क्षेत्रको सुरक्षाप्रति संवेदनशील बन्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।






प्रतिक्रिया