वीरगंज ०४ असार । मिडिया काउन्सिल मधेश प्रदेशको आयोजनामा पर्सा जिल्लाका सञ्चारकर्मीहरूका लागि "स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता अभिमुखीकरण" कार्यक्रम वीरगंजको होटल वृन्दावनमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दीले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत् समुद्घाटन गर्नुभयो। सो अवसरमा बोल्दै उहाँले समाजलाई सही दिशा निर्देश गर्न पत्रकारिता क्षेत्र मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ, मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा, विश्व पत्रकार महासंघका सचिव दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ केन्द्रिय लेखा समितिका संयोजक केसी लामिछाने, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओम प्रकाश खनाल, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक तिवारी लगायत विभिन्न पत्रकार सङ्गठनका नेतृत्वकर्ताहरूले पत्रकारिताको गरिमा जोगाउन आचारसंहिताको पालना अनिवार्य रहेको औंल्याउँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अभिमुखीकरण कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले पर्सेली सञ्चारकर्मीहरूलाई स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका आयामहरू तथा पत्रकार आचारसंहिताको व्यावहारिक कार्यान्वयनका विषयमा विस्तृत प्रशिक्षण दिनुभयो।
"पत्रकारिताको साख जोगाउन र जनमानसमा यसको विश्वसनीयता कायम राख्न आचारसंहिताको पूर्ण पालना नै मुख्य कडी हो " बरिष्ठ पत्रकार झाले अभिमुखीकरण कार्यक्रममा जानकारी गराए ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष वन्दना झाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा रिपोर्टर्स क्लब नेपाल पर्साका अध्यक्ष कन्हैया गुप्ता, प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र लगायत पर्सा जिल्लाका विभिन्न सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।







प्रतिक्रिया