
बीरगंज ५ असार । जितपुर सिमरा नगर उद्योग वाणिज्य संघको यहि असार ७ गते हुने निर्वाचनका लागि गजेन्द्र गुप्ताको नेतृत्वमा चुनावी प्यानल घोषणा भएसँगै उद्योगी र व्यवसायी माझ चुनावी सरगर्मी निकै बढेको छ।
नगर क्षेत्रका सम्पूर्ण उद्योगी, साना तथा ठूला व्यापारीहरूको हकहित संरक्षण गर्ने र व्यापारिक वातावरणलाई थप सुदृढ बनाउने प्रतिवद्धतासहित गुप्ताको प्यानलले आफ्नो प्रचार-प्रसारलाई तीव्र पारेको हो।
घोषित प्यानल अनुसार संघको गरिमामय वरिष्ठ उपाध्यक्ष पदमा शिवजी साह सोनार र महासचिव पदमा प्रकाश गिरी चुनावी मैदानमा उत्रिनु भएको छ।
दुवै जना स्थानीय व्यवसायी माझ स्थापित र परिपक्व अनुहार मानिनुहुन्छ।
त्यस्तै, वाणिज्य उपाध्यक्ष पदमा रामबाबु कलवार, कोषाध्यक्ष पदमा रिना रौनियार पुरी र वाणिज्य सचिव पदमा रिता कडेलले उम्मेदवारी दिनुभएको छ।
समावेशी र व्यावसायिक रूपमा सक्षम दाबी गरिएको यस प्यानलको सदस्य पदहरूमा मुकुन्द रिजाल, अमरेन्द्र साह कलवार, विभा गुप्ता र नवरतन प्रसाद कलवार रहनुभएको छ।
गजेन्द्र गुप्ताको यस प्यानलले जितपुर सिमरा क्षेत्रका उद्योगी र व्यापारीहरूलाई कर प्रणालीमा सहजीकरण गर्ने, स्थानीय बजार व्यवस्थापन चुस्त बनाउने र व्यवसायीमाथि आइपर्ने हरेक समस्यामा ढाल बनेर उभिने मुख्य संकल्प लिएको छ।










प्रतिक्रिया