बारा ११ असार । पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८१/८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत "पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्यान्वयनका लागि सरोकारवालाहरू सँग अन्तरक्रिया" कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रम बाराको पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको प्रशिक्षण हलमा जेठ २१ गते मंगलबारका दिन भव्यताका साथ आयोजना गरिएको हो ।
पशु क्वारेन्टाइन कार्यालय वीरगञ्जका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. राकेश मोहन सिंहको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पशु ढुवानीलाई व्यवस्थित, मानवीय र कानुनी मापदण्ड अनुकूल बनाउने विषयमा सरोकारवालाहरूबीच गहन छलफल भएको थियो ।
सुरक्षा निकाय र स्थानीय व्यवसायीहरूको उत्साहजनक सहभागिता कार्यक्रममा राजमार्ग सुरक्षा र ट्राफिक व्यवस्थापनका तर्फबाट ट्राफिक डिएसपी (DSP) नवराज थपलिया, प्रहरी निरीक्षक (Inspector) विदुर चन्द्र धमला, प्रहरी हवल्दार गणेश लाल तेली र प्रहरी जवान राजाबाबु साह लगायतको उपस्थिति रहेको थियो ।
सुरक्षा अधिकारीहरूले मापदण्ड विपरित गरिने पशु ढुवानीलाई रोक्न र कानुनी कारबाहीलाई चुस्त बनाउन आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।
त्यसैगरी जितपुर बजारका स्थानीय व्यापारी तथा सरोकारवालाहरू जाहिद आलम, मनोज पासवान, कलाम खाँ पैठान, सलाउद्दिन अन्सारी, र सद्दाम हुसेन लगायत जितपुर सिमरा उपमहानगरपालिकाका पशु चिकित्सक डा. सुवाश झाको समेत सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रममा उपस्थित व्यवसायीहरूले व्यावहारिक समस्याहरू प्रस्तुत गर्दै मापदण्ड पालना गर्न आफूहरू तयार रहेको बताएका थिए ।
पशु ढुवानी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागी सरोकारवालाहरूबीच अन्तरक्रिया सत्रमा डा. राकेश मोहन सिंहले प्रोजेक्टर मार्फत कार्यपत्र प्रस्तुत गर्दै पशु ढुवानी गर्दा अपनाउनुपर्ने न्यूनतम मापदण्ड, पशु कल्याण र कानुनी प्रावधानबारे स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रमको समापन पश्चात् सहभागी सम्पूर्ण अधिकारी, प्रहरी टोली र व्यवसायीहरूले "पशु ढुवानी मापदण्ड २०६४ को प्रभावकारी कार्यान्वयनको लागि सरोकारवालासँग अन्तरक्रिया" लेखिएको मुख्य ब्यानर बोकी सामूहिक तस्विर खिचाएका थिए ।
पशु ढुवानीलाई सुरक्षित र मर्यादित बनाउन यस्ता कार्यक्रमहरूले कोसेढुङ्गाको काम गर्ने सहभागीहरूको निष्कर्ष थियो ।





प्रतिक्रिया