बीरगंज ८ माघ। आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि सप्तरीको चारवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको समाचार छ ।
सप्तरीका चार निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यकालागि मङ्गलबार २० महिला सहित १०५ जनाको मनोनयन दर्ता भएका थिए ।
मनोनयन दर्तापछि चारै क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयले बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारविरुद्ध दाबी – विरोध तथा उजुरी दर्ता गर्न नआएकाे जनाइएकाे छ ।
निर्धारित समयभित्र कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारविरुद्ध दाबी – विरोधकाे उजुरी नपरेको मुख्य निर्वाचन अधिकृत किशोर धिमिरेले बताए ।
दाबी–विरोध नपरेकाले अब पूर्व निर्धारित निर्वाचन तालिकाअनुसार बाँकी प्रक्रिया अघि बढाइने भएको छ । मुख्य निर्वाचन अधिकृत धिमिरेका अनुसार मनोनयनपत्रमाथि जाँचबुझ गरी ८ गते बिहीबार उम्मेदवारको नामावली प्रकाशित गरिने छ ।
त्यसपछि ९ गते शुक्रबार उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन उम्मेदवारको अन्तिम नामावली तथा निर्वाचन चिन्ह प्रकाशित गरिने उहाँले बताउनुभयो । दाबी–विरोध नपरेको अवस्थामा बाँकी सबै कामहरू निर्धारित कार्यक्रमअनुसार अघि बढाइने निर्वाचन अधिकृतको कार्यालयले जनाए।





प्रतिक्रिया